संस्कार खोज्न कहाँ जाने ?


पूर्ण बहादुर भण्डारी
हाल लिबाङ–रोल्पा

संस्कार न सापटी लिन मिल्ने न दिन मिल्ने, न किन्न सकिने न आफुसँग प्रशस्त भएर कसैलाई बेच्न मिल्ने चिज ! यो त मानव सभ्यतासँगै जोडिएको संस्कार शब्द सरल अनि आफैमा निकै महत्वपूर्ण शब्द हो । यहि संस्कृतिबाट सिक्दै गरेको संस्कार र सभ्यताले हामी विश्वमा चिनिएका छौं, अनि चिनाएका छौं । आफ्नो परिवेश र मौलिकतालाई यो शब्दले आफू बसेको ठाउँमा मात्रै होइन । हरेक ठाउँमा अनुशासित, लगनशीलता, मर्यादित र जवाफदेही बन्न सिकाउँछ । साच्चिकै भन्ने हो भने सभ्यता र संस्कारको क्षेत्र आफैमा निकै विशाल हुन्छ । यदि कसैले साँघुरो हुन्छ भनेर केही नबुझे जस्तो गरी आफुलाई बहादुरी ठान्छ र ठान्न खोज्छ । भने त्यो संस्कार बिना संस्कार बाहिर हुर्केको असभ्य प्राणी रहेछ भन्ने अर्थ लाग्न पुग्छ । हरेक क्षेत्रमा मानवीय सभ्यता हुन्छ । हरेक पेशाको महत्व आफ्नै ठाउँमा हुन्छ । चाहे त्यो कलाकारिता क्षेत्र होस्, चाहे राजनीतीक क्षेत्र होस्, चाहे प्रशासनिक क्षेत्रमामा किन नहोस् । यो सबैले बुझ्न जरुरी छ । शक्ति र पहँुचको भरमा स्वभाव र आफ्नो सभ्यता गुमाउन खोज्नु, काननु हातमा लिन खोज्नु राम्रो कुरा होइन ।सभ्यता र संस्कार त आफैले सिक्ने हो ।

दुःखका साथ भन्नुपर्छ आफु हुर्केको संस्कृति र मौलिकतालाई क्षणिक स्वार्थमा भुल्न खोजेर समस्या निम्त्याउनु राम्रो होईन । आफ्नै जन्मभूमि मातृभूमी प्रती माया श्रद्धा सम्मान दिन नसक्नेले अर्काको देशमा के सन्देश दिन सक्छ होला । अनि हामीले के आसा अनि अपेक्षा राख्ने सभ्य, शिष्ट अनि सबैको लोकप्रिय भनिएका र ठानिएकाहरुसँग !! हामी हरेक ठाउँमा फरक–फरक परिस्थितिसँग समय पार गरी रहँदा सँधै आफ्नो अनुकुल हुन सक्दैन भन्ने कुरा कदापी भुल्नु हुँदैन । पेशागत रूपमा राजनीतिज्ञ, पत्रकार, सुरक्षाकर्मी, स्वास्थकर्मी, पाईलट ईन्जिनियर, सर्वसाधारण नागरिक जो सुकै जहाँ जस्तो अबस्थामा किन नहोस् संस्कारबाटै उसको मुल्याङ्कन हुन्छ । हरेक क्षेत्रमा देखाउने स्वभाव शिष्ट र सभ्य हुनुपर्छ । अनावश्यक देखाउने त्यो रवाफ अहमता, घमण्ड जस्तो अमानवीय व्यवहार प्रति एउटा सभ्य नागरिकको हैसियतले भन्नु पर्दा बोल्नु पर्दा पटक्कै चित्त बुझ्दो मानिँदैन सम्वेदनशिल क्षेत्रमा सम्वेदनशिल भएर बोल्न चल्न सक्नुपर्छ । जुनसुकै ठाउँमा खटिएर काम गर्ने कर्मचारी किन नहोस्, आफ्नै जिम्मेवारी, कर्तव्य र दायित्व हुन्छ । उनिहरु प्रति पनि एउटा मानवीय सभ्यता देखाउन सक्नु त्यो महानता हो । काम गर्ने कर्मचारी सबैका साझा हुन् । कसैका व्यक्तिगत हलि होईनन् । बाध्यता र समस्या छन भन्दैमा आफ्नो नैतिकता र अनुशासनलाई भुल्नु हुँदैन । सभ्य भएर म को हुँ के गर्दैछु कुन ठाउँमा उभिएको छु । भन्ने कुरामा निकै ख्याल राख्नुपर्छ । हामी आफै आदर्शवादी भएर संस्कारका निकै ठूला कुरा गर्छौं । तर, व्यवहारिक बन्न नसक्दा आफ्नै व्यावसायिक जीवनमा सँधैका लागि पछुतो जस्तै बन्न सक्छ भन्ने कुरा विभिन्न समयमा घट्ने घटनाक्रमहरुले देखाइरहेका छन् ।
मानव संस्कारलाई नपच्ने गरी कुनैपनि ठाँउमा असभ्य भएर उपस्थिति देखाउने छुट कुनैपनि व्यक्ति, संस्था वा राजनीति दल कोही कसैलाई छैन झन सार्वजनिक महत्वपूर्ण ठाउँमा, सबैको चाँसो र सरोकार जोडिएको ठाउँमा असभ्य अमानवीय, छाडा, अभद्र अनि अनुशासनहिन शैलीमा घुर्की अनि धम्की दिएर आफ्नो परिचय दिन खोज्नु र सम्मानित पेशा प्रति दाग लगाउन खोज्नु कसैका लागी राम्रो पक्ष होइन । बरु आफ्नै लागी निकै ठूलो घात हो । कानून न्याय, अनुशासन र मर्यादाको परिधिमा सबै बस्नुपर्छ ।

हरेक ठाउँमा हक्की स्वभाव देखाएर मात्रै आफ्ना उद्वेश्य अनि स्वार्थ पूरा गर्न सकिन्छ । भन्ने त्यो मानसिकता र अडान त सपना मात्रै हो । कसैलाई धम्कि दिएर क्षमता प्रर्दशन गरी रहँदा क्षणिक रुपमा तातो रिस मेटिएला, आनन्द आउला, निकै ठूलो सफलता मिलेको अनुभुती त होला । तर, निकै दुःखका साथ कमाएको प्रशंसा र बनाएको ईज्जतसँगैको छबिमा दाग लाग्ने स्थिति आउन सक्छ । यही प्रवृतिको असरले कहाँ कुन अवस्थामा उभिएर शिर निहुँराएर सबैका सामु आफुले गरेको गल्ती र लगाएको दोष प्रति माफी मात्रै होइन । कानूनी कठघरामा पुग्दा बल्ल थाहा हुन्छ कि मैले के गरेको रहेछु भन्ने कुरा । एउटा मानव भएर अर्को मानवलाई विभेद गर्ने र होच्याउने प्रवृत्तिले गलत सन्देश प्रवाह भैरहेको हुन्छ भन्ने कुरा भुल्नु हुँदैन । आफुलाई जत्ती चित्त दुख्छ त्यत्ति नै चित्त अरुलाई पनि दुख्छ होला भन्ने सोच्नु महानता हो । प्राचीन मानव सभ्यताको त्यो युग होस् कि परिवर्तनशिल मानव सभ्यताको आजको युग होस् वा पछी आउने अर्को नयाँ कुनै युग किन नहोस् हामीले देखाउने संस्कार, व्यवहार ठीक भएन भने आफ्नै व्याव्सायिकतामा ठूलो असर पर्न जान्छ । हामी आफैले अग्रजहरु प्रति सम्मान दिन जान्दैनौ बरु शक्ति र पहँुचको भरमा धाक देखाएर सम्मान लिन खोज्छौ । तर, त्यसको असर कहाँ कहाँ, कुन अवस्थामा, कसरी, कतिसम्म पर्न जान्छ त्यो बुझ्दैनौं । समाजका हामी हरेक नागरिक जबसम्म सभ्य भएर जिउन अनि जिउन प्रेरित गर्न त्यो किसिमको वातावरण सृजना गर्दैनौं । तबसम्म न हामी न….. समाज सम्वृद्धतर्फ अगाडि बढ्न सक्दैन । छाडापनको संस्कृति मौलाउँदै जाने र अन्तमा समाजले असुरक्षित महशुस गर्ने दिन नआउला भन्न सकिँदैन । यदि बाबु–आमा, दिदि–बहिनी, दाजु–भाइ, आफन्तसँगको नाता सम्बन्ध अनि संस्कार र सभ्यतालाई बिर्सेर हामीले आफ्नो व्यक्तिगत जीवनशैलीलाई मात्रै स्वार्थमा राखिरहने हो भने हामी हामीले कुन र कस्तो संस्कार सिक्ने अनि भविश्यका सुनौला सपना र आशाहरु बोकेर आउँदै गरेका नयाँ पिढी र सन्ततिहरुलाई कुन संस्कार सिकाउने अनि संस्कार खोज्न कहाँ जाने ?

You may also like