राजधानीमा बिहीबारदेखि सुट, बुट मेला

sut_butकाठमाडौं, ६ पुस । आगामी बिहीबारदेखि राजधानीको भृकुटिमण्डपमा ‘सुट र बुट’ मेला हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन र नेपाल कपडा तथा सिलाइ व्यवसायी संघको संयुक्त आयोजनामा हुन लागेको मेला १ सातासम्म चल्नेछ । मेला जुत्ता–चप्पल तथा वस्तुको १२औं औद्योगिक प्रदर्शनी पनि हो । नेपाली जुत्ताहरूको ब्रान्डिङ गर्ने र बजार विस्तार गर्ने उद्देश्यसहित मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।
मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले नेपाली जुत्ताहरूको ब्रान्डिङ गर्न मेलाको आयोजना गरिएको बताए । “देशको विषम परिस्थिति र सरकारको संरक्षणको अभावमा नेपालका उद्योग तथा व्यवसायी दिन प्रतिदिन धराशायी हुँदै गइरहेका छन् तर हामी यो क्षेत्रमा आत्मनिर्भर छौं है भनेर देखाउन खोजिरहेका छौं,” उनले भने, “पुस १५ गतेसम्म सञ्चालन हुने मेलामा १०५ वटा स्टल राखिने छन् ।”
नेपालमा उत्पादित छालाका जुत्ता, स्पोर्टस् जुत्ता–चप्पल, क्याजुयल जुत्ता, विद्यालय–कलेजका युनिफर्म जुत्तासहित सर्ट पाइन्ट तथा सुटका कपडा, प्राकृतिक रेसाबाट बनेका कपडा तथा आकर्षक डिजाइनका सर्टिङसुटिङका डिजाइन प्रदर्शनीमा राखिने बताइएको छ ।
“ग्राहकले स्वदेशमा उत्पादित जुत्ता–चप्पल, छालाजन्य वस्तु तथा स्वदेशमा तयार गरिएका सर्टिङसुटिङका सामग्रीहरू एउटै छानामुनि अवलोकन तथा खरिद गर्न पाउनेछन्,” श्रेष्ठले भने ।
कपडा तथा सिलाइ व्यवसायी संघका अध्यक्ष सुरज बज्राचार्यले मेलाबाट आर्थिक लाभ नखोजी व्यावसायिक र सांगठनिक ब्रान्डिङ गर्न खोजेको बताए । उनले गत वर्षदेखि बुट मेलामा सुट पनि सहभागिता जनाइएको भन्दै आगामी दिनमा निरन्तरता दिने उद्घोष गरे ।
संघका अनुसार नेपालमा २ हजारभन्दा बढी छाला जुत्ता–चप्पल तथा वस्तु उत्पादन गर्ने उद्योग छन् । जसबाट ५० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको व्यवसायीको दाबी छ । नेपालमा कुल ५ करोड जोर जुत्ता खपत्त हुने गरिएकोमा ६५ प्रतिशत जुत्ता नेपाली रहेको बताइएको छ ।
यसैगरी २०५५ सालमा स्थापित नेपाल कपडा तथा सिलाइ व्यवसायी संघमा परम्परागत तथा संस्थागत गरी २ हजार ५०० सिलाइ व्यवसायी छन्, जसमध्ये ९५ प्रतिशत व्यवसायी परम्परागत सीप भएका छन् । “हामीले परम्परागत व्यवसायको जगेर्ना गर्न खोजेका हौं,” अध्यक्ष बज्राचार्यले भने, “मेलाले घरेलु पेसामा आबद्ध व्यक्ति तथा संस्थालाई व्यावसायिक  बनाउन मद्दत गर्नेछ ।”
जुत्ता–चप्पल तथा वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाइ विदेशी जुत्ता–चप्पल र वस्तुहरूको आयातलाई प्रतिस्थापन गर्ने मेलाको मूल उद्देश्य रहेको आयोजकको दाबी छ ।
“यो मेला यसअघिका मेलाको निरन्तरता पनि हो,” निवर्तमान अध्यक्ष होमनाथ उपाध्याय भन्छन्, “मेलाले स्वदेशी ब्रान्डलाई स्थापित गर्न र आयातीत जुत्ताको प्रतिस्थापन गर्न सहयोग गर्नेछ ।”

You may also like